काठमाडौं- शनिबारदेखि काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले पाउने पुरस्कार राशी घाेषणा गरिएकाे छ।
आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने घोषणा गरेको हो।
यस्तै, उपविजेताले १५ लाख पाउनेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख पाउने छन्। त्यस्तै, हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन्।
आयोजकले जेठ १ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिएकाे छ। प्रतियोगिताका निर्देशक श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भएपनि प्रतियोगिता आयोजना हुने बताए।
उनले सरकारले तोकिएको मापदण्ड अपनाइने समेत जानकारी दिए। यस्तै, प्रतियोगिताको अवधिभर कुनै पनि टोलीका खेलाडीमा कोरोना संक्रमण देखिए अर्को खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान आयोजकले क्लबलाई प्रदान गरेको छ।
पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन्। जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेन्जरर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलीबाट हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेन्जरर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ। लिगमा कुल २५ खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।