काठमाडौं- सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गएराति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर–२ को खुुम्बु आइसफलमा लडेर घाइते शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउन्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो ।
शेर्पा हिमालयन एसोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा गएका थिए। यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो। शिविर ३ पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरीकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर ३ माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सगरमाथा आरोहणको नवौँ दिन सोमबारसम्म ३१६ भन्दा बढी आरोही चुचुरामा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।