गाईघाट– सगरमाथा आरोहणका क्रममा दुई विदेशी नागरीकको मृत्यु भएको छ।
सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु नगरपालिका–४ स्थित ३ नम्बर आधार शिविरमा लेक लागेर मेसीडोनियाली नागरिक जिजौरुगी पेटकोभको मृत्यु भएको छ। शिविरबाट करिब चार सय मिटरको उचाइमा पुगेपछि लेक लागेर बिरामी परेका उनको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, सोही शिविरबाट फर्कनेक्रममा सम्पर्क विहिन भएका जापानी आरोही नोबुकाजु कुरिकीको शव फेला परेको छ। उनको चिप्लिएर लडेका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।
जेष्ठ ६ गते रातिदेखि सम्पर्कविहिन भएका कुरिकीको शव आइतबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ। प्रहरीले कानुनी प्रक्रिया पुरा गरी दुवै शवलाई पोष्टमार्टमका लागि काठमाडौं पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।