काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ। कप्तान लियोनेल मेस्सी चम्किएपछि बार्सिलोनाले गेटाफेमाथि सानदार जित निकालेको हो।
गएरातिको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे भने एन्टोनी ग्रिजम्यान र रोनाल्ड अरुजोले एकरएक गोल थपे।
बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए। गेटाफेले पनि एक गोल आत्मघाती उपहार पाएको थियो।
बार्सिलोनालाई सुरुवाती अग्रता दिलाउने क्रममा मेस्सीले खेलको आठौँ मिनेटमा गोल गरेका थिए । खेलको १२औँ मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेग्लेटले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो।
त्यसपछि २८औँ मिनेटमा गेटाफेका सोफियन चक्लाले आत्मघाती गोल गर्दा बार्सिलोनाले २–१ को अग्रता बनायो। खेलको ३३औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाए।
यस्तै, ६९औं मिनेटमा गेटाफेका इनेसले पेनाल्टीमा गोल गर्दा खेल ३–२ को स्थितिमा आयो । खेलको ८७औँ मिनेटमा रोनाल्डले गोल गर्दा बार्सिलोना ४–२ ले अघि रह्यो।
त्यसपछि खेलको इन्जुरी समयमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५–२ को जित दिलाए । जितसँगै बार्सिलोनाले ३१ खेलमा ६८ अंक जोडेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।