काठमाडाैं- संकटा क्लब सिमरामा जारी एघारौं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार साँझ सिमरा रङ्गशालामा सम्पन्न दोश्रो सेमिफाइनलमा एपीएफलाई ३-१ पराजित गर्दै संकटा फाइनलमा पुगेकाे हाे।
संकटाको जितमा प्रकाश बुढाथोकीले दुई तथा फोडे फोफानाले एक गोल गरे। यता एपीएफका प्रदिप लामाले सान्त्वना गोल फर्काए। खेलको २२औं मिनेटमाबुढाथाकीको गोल गर्दै संकटालाई अग्रता दिलाए।
३७औं मिनेटमा प्रकाशकै गोलमा संकटाले अग्रता दाेब्बर बनायाे। ६१औं मिनेटमा फोफानाले गोल गर्दै संकटालाई ३–० को फराकिलो अग्रता दिलाए।
खेलको ७९औं मिनटमा सुमन विकले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि एपीएफले पेनाल्टी पायाे। प्रदिप लामाले पेनाल्टी शुट आउटमा सान्त्वना गोल फर्काएपनि अन्तिम समयमा एपिएफ खेलमा फर्कन सकेन।
जितसँगै संकटाले उपाधि होडमा अफ्रिकन रुट्स एशोसियसन (एआरए) सँगको भेट पक्का गरेको छ। उपाधिका लागि अब शनिवार संकटा र एआरएबीच प्रतिष्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।