काठमाडौं– पाकिस्तानबाट नेपाल आएका एकजना नेपाली नागरिकबाट प्रहरीले ९० लाख रुपैयाँ बराबरको अवैध लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको छ।
गत चैत २६ गते पाकिस्तानबाट एयर अरबियाको विमानमाफर्पत संयुक्त अरब ईमिरेट्स (युएई)को सारजाह हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका धादिङको खनियाबास गाउँपालिका-१ घर भएका ४९ वर्षीय दावा लामा तामाङको साथबाट प्रहरीले ९ सय ग्राम खैरो हेरोइन बरामद गरेको हो।
एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका दावाले खैरो हेरोइनका क्याप्सुलहरु निलेर पेटमा ‘लुकाइ’ ल्याउन लागेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको थियो।
विमानस्थलबाट पक्राउ परेका दावालाई नेपाल प्रहरी अस्पताल पुर्याइएको थियो। अस्पतालमा सिटी स्क्यान गर्दा उनको पेटमा खैरो हेरोइनका क्याप्सुलहरु देखिएका थिए।
दावालाई अस्पतालमै राखी चैत २८ गते बिहानसम्म दिशाबाट खैरो हेरोइनका क्याप्सुलहरु निकालिएको थियो। दावाको पेटबाट ९ सय ग्राम तौलका ९३ वटा क्याप्सुल निकालिएको थियो।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलका अनुसार दावाको पेटबाट निकालिएको खैरो हेरोइनको अवैध बजार मूल्य ९० लाख रुपैयाँ हुन आउँछ।
खैरो हेरोइन तस्करीमा दावासँगै अन्य २ जनाको पनि संलग्नता खुलेको एसपी कँडेलले जानकारी दिए। लागू औषध तस्करीमा संलग्न रहेको देखिएपछि प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले २ महिलासहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको सत्यदेवी गाउँपालिका-२ बस्ने ‘काइली’, ‘मायाँ’ ‘फूलमाया’, कालीमाया’, ‘देवीमाया’ भनिने ५९ वर्षीया गोपी तामाङ, धादिङकै रुवीभ्याली-३ सेर्तुङ घर भएकी ४५ वर्षीया होनीमाया तामाङ्नी र लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ घर भएका ५२ वर्षीय वयस बहादुर गुरुङ छन्।
एसपी कँडेलका अनुसार दावा लामा तामाङ यसअघि पनि लागू औषध तस्करी मुद्दामा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उनी २०६५ सालमा लागू औषध सेतो हेरोइनसहित पक्राउ परेका थिए।
त्यतिबेला दावासहित ६ जना नेपाली र ३ जना विदेशी नागरिक पक्राउ परेका थिए। उक्त मुद्दामा दावाविरुद्ध अदालतले ५ वर्ष कैद सजाय सुनाएको थियो। ५ वर्ष कैद सजाय भुक्तान गरी जेलबाट रिहा भएका उनी पुनः लागू औषध तस्करीमा संलग्न भएका पाइएको छ।
यस्तै, ‘काइली’, ‘मायाँ’ ‘फूलमाया’, कालीमाया’, ‘देवीमाया’ जस्ता नामले चिनने गोपी तामाङ लागू औषध तस्करीका विभिन्न मुद्दामा फरार अभियुक्त हुन्।
लागू औषध नियन्त्रण ब्यूरोले ३० चैत २०६५ मा चलाएको सेतो हेरोइन तस्करीको मुद्दा र ३ भदौ २०६९ मा बुद्धि कुमार गुरुङ पक्राउ गरिएको मुद्दामा गोपी तामाङ फरार थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।