तस्वीर सौजन्य– नारायण सापकोटा
माडी- चितवनको माडीस्थित अयोध्यापुरीमा नवनिर्मित मन्दीरमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ।
माडी नगरपालिका-९ कृष्णनगरमा हजारौंको उपस्थितिका बीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको हो। अहिले राखिएका मूर्तिहरुलाई पछि मूल मन्दिर बनाएर स्थानान्तरण गरिने अयोध्याधाम प्रचार समितिका संयोजक श्री दवाडीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार बनाइएका मूर्तिलाई मंगलबार काठमाडौंबाट चितवन ल्याइएको थियो। रथ यात्रासहित ल्याइएका मूर्तिलाई बुधबार बिहान देबघाट संगमस्थलको जलले जलाभिषेक गरिएको थियो।
यस्तै, माडीमा पुर्याइएपछि मूर्तिलाई परशुराम कुण्डको जलले जलाभिषेक गरिएको थियो।
बुधबार संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलसहितको उपस्थितिमा माडीमा मूर्ति राखिएको हो।
मूर्ति राख्ने कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकालले भगवान रामको जन्म अयोध्यापूरीमा नै भएको यथेष्ट प्रमाण भएको बताए।
मन्त्री ढकालले माडीमा रामधामको गुरुयोजना बनाएर थप भौतिक पूर्वाधार निर्माण गरिने पनि बताए। बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले अयोध्याधामको विकास लागि प्रदेश सरकारले लगानी गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।