काठमाडौं- जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि फुटबलतर्फको तालिका सार्वजनिक भएको छ। बुधबार स्विट्जरल्याण्डको ज्युरिचमा पुरुष र महिला दुवैतर्फको ‘ड्र’ सार्वजनिक गरिएको हो।
यू-२३ टिमले खेल्ने ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ साविकको विजेता ब्राजिल र उपविजेता जर्मनी एकै समूहमा परेका छन्।
समूह ‘डी’ मा रहेको ब्राजिल र जर्मनीसँगै आइभरीकोष्ट र साउदी अरेबिया रहेका छन्। यस्तै, समूह ‘ए’ मा आयोजक जापान, फ्रान्स, मेक्सिको र दक्षिण अफ्रिका छन्।
समूह ‘बी’ मा न्युजिल्याण्ड, दक्षिण कोरिया, होन्डुरस र रोमानिया परेका छन्। यस्तै समूह ‘सी’ मा इजिप्ट, स्पेन, अर्जेन्टिना र अष्ट्रेलिया छन्।
यसैगरी महिलातर्फ समूह ‘ए’ मा आयोजक जापान, क्यानडा, बेलायत र चिली परेका छन्। समूह ‘बी’ मा चीन, ब्राजिल, जाम्बिया र नेदरल्याण्ड्स रहेका छन्। समूह ‘सी’ मा स्वीडेन, अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्ड छन्।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुँदैछ। फुटबलका खेल दुई दिन अघि अर्थात जुलाई २१ मै शुरु हुनेछ। फाइनल खेल भने अगष्ट ७ मा सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।