इनरुवा- ४ लाख रुपैयाँ बढी बराबरको नक्कली नोटसहित सुनसरी प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
सुनसरीसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा नक्कली नोटको कारोबारमा सक्रिय रहेका भनिएका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको साथबाट ४ लाख १५ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिकाका-१९ बस्ने ६६ वर्षीय टेकबहादुर तामाङ, धरान-१७ बस्ने १७ वर्षीय महेन्द्र तामाङ र सुनसरीकै हरिनगर गाउँपालिका-२ बस्ने २४ वर्षीय नाजिम साफी छन्।
प्रहरीले उनीहरुलाई सुनसरीको ईनरुवा नगरपालिका-४ स्थित स्टार होटलको अगाडिबाट पक्राउ गरेको हो।
उनीहरुको साथबाट नेपाली रुपैयाँ १ हजार दरका ४१५ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।