वीरगन्ज। प्रलोभनमा पारी ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले ३६ वर्षका १ जना पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफ छन्। वीरगन्ज–२४ मै आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पीडित बालिकाका बुवाले आफ्नी ७ वर्षीया छोरीमाथि बलात्कार गरेको भन्दै सर्राफविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए।
वैशाख ६ गते (सोमबार) ३ जना छोराछोरीलाई वीरगन्ज–२४ स्थित डेरामा छोडेर श्रीमान्–श्रीमती नै काम गर्न गएकोमा दिउँसो फर्किँदा छोरीमाथि बलात्कार भएको थाहा पाएको पीडित बालिकाका बुवाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा सर्राफले १० रुपैयाँ दिएर ललाइ–फकाइ ७ वर्षीया बालिकामाथि बलात्कार गरेको खुल्न आएको छ।
मंगलबार पक्राउ परेका सर्राफमाथि जबर्जस्ती करणीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।