काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई आफूहरुको समर्थन नरहेको प्रष्ट पारेका छन्।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा उनले यसबारे निर्णय गर्ने बताए। बैठकको कार्यसूचीको पाँचौं नम्बरमा यस विषयमा छलफल हुने तय भएको छ।
सरकारलाई समर्थन भएको भन्नेबारे कुनै भ्रम नराख्न उनले आग्रह गरे। ‘यो सरकारलाई हाम्रो समर्थन छैन। खालि यो सरकारलाई हामीले कसरी औपचारिक रुपमा नरहेको कुरा लेखेर दिने भन्ने मात्रै बाँकी छ,’ श्रेष्ठले भने।
उनले यो सरकारलाई विस्थापित गरेर वैधानिक रुपले अर्को सरकार बनाउने प्रक्रियाको पहलकदमी र नेतृत्व गरिरहेको आफूहरुको पार्टीले सरकारको समर्थनलाई कुनैपनि कोणबाट अगाडि बढाउन नसक्ने बताए। तर, देशमा राजनीतिक अन्योलको स्थिति सिर्जना नहोस् भनेर आफूहरु सचेत रहेको श्रेष्ठले बताए।
‘यो देशमा संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न हुनेगरी चुनाव घोषणा हुने र चुनावचाहीँ नहुने स्थितितिर देश नधकेलियोस्। त्यसकारणले हामी सुविचारित ढंगले कदम चाल्ने पक्षमा मात्रै छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।