काठमाडौं–बालाजु चोक नजिक चक्रपथ सडकखण्डमा बन्चरो प्रहार गरी लुटपाट भएको छ।
लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा गोरखाको नाम्जुङ–३ घर भई काठमाडौं–१६ बस्ने १८ वर्षीय सुमन परियार, ओखलढुंगाको पतलेछेर्मादिङ गाउँपालिका–६ घर भई काठमाडौं बस्दै आएका १८ वर्षीय छिरिङ मोक्तान र मकवानपुरको पालुङ–८ घर भई काठमाडौं बस्दै आएका २१ वर्षीय सुरज तामाङ रहेको काठमाडौं प्रहरीका प्रवक्ता रमेश बस्नेतले बताए।
उनीहरुले वैशाख ३ गते राति ९ बजेतिर बाटो ढुकेर रुकुमको मुसिकोट नगरपालिका–२ घर भई काठमाडौं–१६ बस्दै आएका १९ वर्षीय रमेश चनारालाई बन्चरो प्रहार गरी लुटपाट गरेका थिए।
लुटपाट गरी फरार भएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले गंगा हल नजिकबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरुबाट डेढ तोलाको सुनको सिक्री बरामद गरेको छ। घटनास्थलबाट एउटा बन्चरो समेत बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।