सुर्खेत– कर्णाली प्रिमियर लिग(केपिएल)मो रुपन्देही–११ ले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। प्रतियोगिता अन्तर्गत आफ्ना तीन वटै खेलमा उसले उत्कृष्ट प्रदर्शन गर्दै विजयी यात्रालाई कायमै राखेको छ।
सोमबार भएको आफ्नो तेस्रो खेलमा कप्तान शक्ति गौचनको अलराण्ड प्रदर्शनमा रुपन्देहीले अर्को बलियो टोली टीकापुर क्रिकेट क्लबलाई ६१ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ।
टस जितेर पहिलो ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो। उसका लागि सौरभ खनालले ६ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३३ रन बनाए। यस्तै, कप्तान शक्ति गौचनले २६, विक्रम भुषालले १८, कृष्ण कार्कीले १६ तथा सन्दीप सुनारले १५ रनको योगदान गरे।
बलिङतर्फ टीकापुरका अमर रावलले ३, ललित प्याकुरेल र प्रकाश रावलले समान २/२ तथा आयुव चन्दले एक विकेट लिए।
एक सय ६६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको टिकापुर १८ ओभरमा एक सय ४ रनमा अलआउट हुन पुग्यो। उसका लागि राजन शेरचनले २१, सुशन कार्कीले १६ तथा अजय विष्ट र प्रकाश रावलले १२/१२ रन बनाए।
बलिङतर्फ रुपन्देहीका कप्तान शक्ति गौचनले तीन ओभरमा १६ रन मात्र खर्चिर ३ विकेट लिए। त्यस्तै, विकास श्रेष्ठले चार ओभर बलिङ गरेर १८ रन दिएर ३ विकेट नै लिए भने भुवन कार्कीले २ तथा सन्दिप सुनार बसिर अहमदले एक/एक विकेट लिए। खेलको म्यान अफ दि म्योच शक्ति गौचन भए।
रुपन्देहीले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा भेरीगंगा क्लबलाई ८ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। त्यस्तै, दोस्रो खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडीहरुले भरिएको त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै आफ्नो विजयी यात्रालाई अगाडि बढाएको रुपन्देहीले आज टीकापुरलाई ६१ रनको फराकिलो अन्तरले पराजित गरी उत्कृष्ट लय कायम राखेको छ।
टीकापुरले यसअघिका दुई वटा खेल जितेपनि तेस्रो खेलमा पराजय भोगेको हो।
सोमबार नै भएको अर्को खेलमा मध्यपश्चिम क्रिकेट क्लबले एबिसी स्पोर्ट्स क्लब सुर्खेतलाई १० रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले १५ ओभरमा घटाइएको खेलमा एबिसीलाई एक सय ३९ रनको लक्ष्य दिएको थियो। उसले १५ ओभरमा ४ विकेटको नोक्सानीमा एक सय ३८ रन जोडेको हो।
मध्यपश्चिमका लागि ओपनर राजवीर सिंहले नटआउट ६८ रन जोडे भने सुवेन्दु पाण्डेले १६, अमरसिंह रतौलाले १५ र प्रनिता थापाले १२ रनको योगदान दिए। बलिङतर्फ एबीसीका अरुण ऐरीले २ तथा सुनिल मिश्र र दिनेश पुनले एक÷एक विकेट लिए।
एक सय ३९ रनको लक्ष्य पछ्याएको एबिसी १५ ओभरमा ८ विकेट गुमाउँदै एक सय २९ रनमा समेटियो। उसका लागि आयुशमान वमले सर्वाधिक ३२ र सागर भण्डारीले २३ रनको योगदान दिए।
बलिङतर्फ मध्यपश्चिमका अविनाश बोहोराले २ तथा भीम धमला, अमरसिंह रतौला, दिपेन्द्र रावत र अजय सहानीले एक÷एक विकेट लिए। उक्त खेलको म्यान अफ दि म्याच राजवीर सिंह भए। प्रतियोगितामा दुई खेल खेलेको एबिसीले दुवै खेल गुमाएको छ भने तीन वटा खेल खेलेको मध्यपश्चिमले दुईमा जीत र एकमा हार बेहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।