काठमाडौं- नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका निर्वतमान अध्यक्ष प्रकाश सिंहले आफ्नो चार वर्षभरीको बैठक भत्ताबापतको रकम असहायलाई सहयोग गरेका छन्। उनले पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भइसकेपछि आफ्नो कार्यकालमा विभिन्न बैठक, गोष्ठि तथा कार्यक्रमबाट प्राप्त भएको रकम जिल्लाका पीडितहरूलाई सहयोग गरेका हुन्।
सिंहले ४ वर्षको कार्यकालमा विभिन्न बैठक, गोष्ठि तथा कार्यक्रममा पत्रकार महासंघ बाजुरा शाखाको अध्यक्षबापत पाएको भत्ता रकम ८६ हजार ५ सय असहायलाई सहयोग गरेका हुन्। सिंह २०७३ फागुन २४ गते अध्यक्षमा निर्वाचित भएका थिए।
सिंहले २०७४ असार २७ गते १५ हजार ८० टुहुरा असहाय बालबालिकालाई सहयोग गरेका थिए। त्यस्तै, बडीमालिका नगरपालिका–८ राप्कामा घर भएकी ५१ वर्षीय एकल महिला पारू थापालाई १७ हजार ३ सय ४४ रूपैयाँ सहयोग गरे। ६ वर्षअघि श्रीमान गुमाएकी थापालाई उनीसँग भएका दुई छोरालाई हुर्काउन समस्या परेपछि पत्रकार सिंहले सहयोग गरेका हुन्।
त्यस्तै, भालुको आक्रमणबाट घाइते बनेकी बडिमालिका नगरपालिका–९ की कन्चना उखेडाको उपचारका लागि सिंहले ५ हजार रकम सहयोग गरेका थिए। त्यस्तै, त्रिवेणी नगरपालिकाका क्यान्सर पीडित नवीन पाध्यायको उपचार खर्चका लागि ५ हजार सहयोग गरेका थिए। त्यस्तै, आर्थिक अभावमा जीवन-मरणको दोसाँधमा रहेका हिमाली गाँउपालिका–६ पाडिका शान्त लुवारलाई उपचारमा २० हजार सहयोग गरेका थिए।
बडिमालिका नगरपालिका–७ जिल्लीका बादुर दमाईको उपचारमा १० हजार, बूढीनन्दा नगरपालिका–२ कोल्टीका रघु सार्कीका छोरालाई उपचार खर्चमा १५ हजार सहयोग गरेका थिए। जगन्नाथ गाउँपालिका–५ का पुल्तिसराका अलपत्र चार छोराछोरीलाई कपडा, खाद्यन्न सहयोग गरेका थिए। यसैगरी, अन्य असहायलाई समेत सहयोग गरेर उनले आफ्नो कार्यकालमा भत्ताबापतको रकम मात्र ८६ हजार ५ सय सहयोग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।