काठमाडाैं- सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीश कुमार चुडालले इजलास सेटिङको कुरा सुन्दैमा असहज लाग्ने टिप्पणी गरेका छन्।
उनले संघीय संसद्को सुनुवाइ विशेष समितिको बैठकमा सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिँदै यस्तो टिप्पणी गरेका हुन्। सांसदहरुले सुनुवाइका क्रममा इजलासमा सेटिङ हुने गरेको कुरा धेरै आएको भन्दै प्रश्न सोधेका थिए।
अहिले आएका सन्दर्भले न्यायपालिकालाई सुधार गराउने भन्दै उनले संसदीय सुनुवाइले व्यक्तिगत रुपमा झन् बढी जिम्मेवार बनाएको बताए। 'सेटिङ भन्ने शब्द यहाँ धेरै आएको छ। बेञ्च सेटिङ गर्ने कुरा सुन्दैमा असहज कुरा हो,' चुडालले भने, ' यी सबै मुद्दाको पेशी तोकिँदा आउने समस्या हुन्। अब छिट्टै अन्त्य गर्नेतिर जान जरुरी छ।'
जिल्ला र उच्च अदालतमा यस्तो समस्या नभएको तर सर्वोच्चमा प्रश्न उठेको उनले बताए। यसको समाधानका लागि 'अटोमेसन' प्रक्रियाबाट पेशी तोकिने कार्य भएमा सामाधान हुने उनको भनाइ छ।
'अदालतमा भ्रष्टाचार हुन्छ र? भन्ने देशहरु पनि छन्,' उनले भने, 'यदि भ्रष्टाचार वा अन्य समस्या छन् भने उपचारको उपाय पनि हुन्छ।' उच्च अदालतमा मुख्य न्यायाधीश र सर्वोच्चमा प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था परिवर्तन हुनुपर्ने भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए। पेशी तोक्ने कार्यलाई अटोमेसन गर्ने प्रक्रिया चलिरहेको उनको भनाइ छ। हाल सफ्टवेयरको निर्माण चलिरहेकाले अब समाधान हुने उनले बताए।
'यसले अहिलेको सेटिङको कुरा रोक्ने छ। सर्वोच्च अदालतमा प्रश्न उठ्ने गरेका छन्। म प्रन्यासँग कुरा गर्नेछु। अदालतमाथि प्रश्न उठ्नु हुँदैन,' उनले भने, 'रेफ्री आफैं गोल हान्न लाग्यो भने के होला? यो वातावरण बन्न हुँदैन। म यस्तो सेटिङमा हुन्न। म आफ्नो भूमिका रहन्न भन्ने प्रतिबद्वता व्यक्त गर्न चाहन्छु।'
उनले अदालतले न्याय सम्पादनमात्र गर्छ भन्ने बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाए। विकासको मुद्दामा बाधा गर्ने कुरा राम्रो नहुने बताउँदै उनले विकास रोक्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको प्रस्ट पारे। विकासको काम रोक्ने भन्दा पनि क्षतिपूर्ति दिने कुरामा जानुपर्ने उनको भनाइ छ।
सुनुवाइ समितिले चुडालको सुनुवाइ शुक्रबार टुंग्याएको छ। सर्वोच्चमै सिफारिस भएका अर्का न्यायाधीश नहकुल सुवेदीको सुनुवाइ चलिरहेको छ। समितिले उनीहरुको अनुमोदन हुने वा नहुने निर्णय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।