काठमाडौं– सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा भएको युवक हत्याको कारण लागु औषध भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।
हत्यापछि अनुसन्धानमा खटिएको प्रहरीले लागु औषधको विषयमा विवाद हुँदा मनोहरा सुकुम्बासी बस्ती बस्ने सोलुखुम्बु घर भएका २० वर्षीय ईश्वर राईको हत्या भएको निष्कर्ष निकालेको हो।
सिपाडोल मुलबाटोस्थित गाई फर्ममा खुकुरी प्रहार गरी राईको हत्या भएको थियो। राईको हत्या गरेको अभियोगमा काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार स्थायी घर भएका २० वर्षीय आशिष खुलाललाई पक्राउ गरिसकेको छ।
उक्त गाई फर्ममा राईको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती समेतबाट तत्काल खटिएको प्रहरी टाेलीले आशिषलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा मृतक राई, महोत्तरी घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिस योञ्जन, सुनिल बल र आशिष सिपाडोल मुलबाटोस्थित गाई फर्मको टहराभित्र विवाद भएको थियो।
खुलालले नै राईलाई फोन गरेर गाई फर्ममा बोलाएका थिए। त्यसपछि खुकुरी प्रहार गरी राईको हत्या भएको थियो। राईको हत्याको कारण लागु औषध रहेको प्रहरी निष्कर्ष छ। उनीहरुबीच लागूऔषधको बिषयमा झगडा भएको खुुलेको छ। चारैजना लागुऔषध दुर्व्यसनी रहेको भक्तपुरका एसपी तारादेवी थापाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।