महोत्तरी–मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए।
गत मंगलबार राति करिब ९ बजे पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले राजु चौधरी तथा उनका छोरा गौरव चौधरीलाई अश्लील गालीगलौज गर्नुका साथै मोटरसाइकलको हेलमेट र मुक्का, लात्तीले कुटपिट गरी लुटपाट गरेको पीडितले बताएका छन्।
मदिरा खाएर मात्तिएका युवाको समूहले पसले राजुको पसलको गल्ला (पैसा राख्ने स्थान) बाट ३ लाख रुपैयाँ र एक थान मोबाइल लुटेर लगेको राजुले बताएका छन्। सो घटनाको विरोधमा स्थानीय व्यापारीले आफूहरु असुरक्षित भएको भन्दै बुधबारदेखि महोत्तरी उद्योग वाणिज्य संघ मटिहानीमा तालाबन्दी गरेका छन्।
यसैबीच, उद्योग वाणिज्य संघ मटिहानीले दोषीउपर कडाभन्दा कडा कानूनी कारबाही नभए थप संघर्षका कार्यक्रम अगाडि सार्ने बताएको छ। मटिहानी बजारमा पटक–पटक यस प्रकारका घटना हुँदै आए पनि प्रहरी चौकी तथा सशस्त्र बिओपीको उदासीनताका कारण दोषी उम्कने तथा व्यापारी लुटिने गरेको स्थानीय व्यवसायीको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।