काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रदेश सभा सचिवालयमा बिहीबार दिउँसो १ बजे १० मिनेटमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरि २८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएको कांग्रेस सांसद विन्दुकुमार थापाले बताए। जनमाोर्चाका सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेपनि समर्थन रहेको जनाएका छन्। मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ।
गण्डकी प्रदेशमा कुल ६० सांसद रहेका छन्। जसमध्ये एमालेसँग २८ सांसद छन्। कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई र जनमोर्चा तीन सांसद रहेका छन्।
एक सांसद (दीपक मनाङे अर्थात् राजिव गुरुङ) स्वतन्त्र सांसद छन्। माओदीका सभामुख भएकाले एक भोट दिन पाउने अवस्था छैन। जनमोर्चा मिल्दा ३२ पुगेको छ। त्यसमा सभामुखले मत दिन नपाएमा ३१ हुनेछ। स्वतन्त्र सांसद मनाङ्गेसमेत मिसिन आएमा ३२ हुनेछ।
गण्डकीको प्रदेश सभा अधिवेशन भने अन्त्य भइसकेको छ। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्। विपक्षी दलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेसँगै मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरिदिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।