काठमाडौं- नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुनले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने बताएका छन्। जनता समाजवादी पार्टी(जसपा)को निर्णयलाई लामो समय पर्खिएको बताउँदै पुनले अब माओवादी समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउने विकल्पतिर जाने बताए।
‘हामीले जसपाको निर्णय धेरै दिन पर्खियौं। अब जसपाको निर्णय धेरै दिन पर्खिने स्थिति छैन। जसपा आउँदै गर्छ। माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने दिशातिर जान्छ। मलाई लाग्छ अबको एक/दुई दिनभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’ नेपाल लाइभसँग कुरा गर्दै पुनले भने।
देश अराजकतातिर नजाउओस् भनेरै माओवादीले लामो समय समर्थन फिर्ता नलिएको बताउँदै पुनले अब पर्खेर बस्ने स्थिति नभएको बताए। सरकारलाई लामो समय समर्थन गर्दा आमजनतामा राम्रो सन्देश नगएकाले तत्काल फिर्ता लिने उनको भनाइ छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत शुक्रबार माओवादी केन्द्र र जसपाका नेताहरूलाई आफ्नै निवास बूढानीलकण्ठ बोलाएर संयुक्त सरकारको प्रस्ताव गरेका थिए। कांग्रेसले राखेको प्रस्तावमा माओवादीले समर्थन जनाएपनि जसपाले पार्टीको बैठक राखेर निर्णय गर्ने बताएको थियो।
त्यसपछि जसपाको लगातार दुईदिन पदाधिकारी बैठक बसेपनि कुनै निर्णय गरेको छैन। संयुक्त सरकारका विषयमा जसपा अनिर्णित हुन थालेपछि माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने तयारी गरेको हो।
देशैभर पुनर्गठनमा जुट्दै
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसालाले एमाले र माओवादी ब्युँताएपछि माओवादी देशैभर संगठन पुनर्गठनमा लागेको छ। माओवादीले प्रदेश, जिल्ला र वडासम्म आफ्नो संगठन पुनर्गठनमा लागेको पुनले बताए।
‘अदालतले माओवादी पार्टी ब्युँताइदियो। माओवादी पार्टीमा बस भन्यो’ पुनले भने, ‘त्यसैले अहिले आफ्नो घर बनाउन प्रदेश, जिल्ला र वडासम्म संगठन पुनर्गठनमा लागेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।