काठमाडौं- आपराधिक कार्यमा संलग्न भएको आरोपमा तीनजना पक्राउ परेका छन्। महाजगञ्ज वृत्तबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कबाट तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको छतिवन नगरपालिका-९ घर भई बूढानीलकण्ठ बस्ने ३४ वर्षीय नीमा लामा, नुवाकोटको ताँदी गाउँपालिका-२ घर भएका २८ वर्षीय प्रकाश तामाङ र धादिङको रोराङ नगरपालिका-२ घर भएका ३१ वर्षीय विनोद लामा छन्।
उनीहरुले हो-हल्ला गर्दै सर्वसाधारण मानिस तथा महिलाहरुलाई अभद्र व्यवहार गरेको आरोप लागेको छ। अश्लील गालीगलौज गर्ने, डर त्रास देखाउने गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।