काठमाडौं– रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २–१ गोलअन्तरले पराजित गरेको हो।
लिगको तेस्रो स्थानमा रहेको घरेलु टिम रियल मड्रिड बार्सिलोनालाई पराजित गरेसँगै तेस्रो स्थानमा उक्लिएको हो। रियलका करिम बेन्जिमा र टोनी क्रुसले समान १–१ गोल गरे। यता, बार्सिलोनाका ओस्कार मिनगुएजले एक गोल फर्काए।
पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको रियल मड्रिडले बार्सिलोनाविरुद्ध जित निकाल्यो। खेलको १३ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै बार्सिलोनाविरुद्ध रियल मड्रिडलाई १–० गोलको अग्रता दिलाए। खेलको २८ औं मिनेटमा टोनी क्रुसले गोल गरेपछि रियलले सुरुवातमै २–० गोलको अग्रता बनाएको थियो।
पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको रियल मड्रिडविरुद्ध बार्सिलोनाले दोस्रो हाफमा एक गोल फर्काएपनि हार टार्न सकेन। खेलको ६० औं मिनेटमा ओस्कार मिनगुएजले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको स्थितिमा ल्याए। तर बाँकी समयमा गोल गर्न नसक्दा बार्सिलोनाले रियलविरुद्ध खेल हार्न पुग्यो।
यता, रियल खेलको ९० औं मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो। कासिमिरोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। जितपछि रियलले एथ्लेटिको मड्रिडलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ।
रियल ३० खेलबाट ६६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो। एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको पनि ६६ अंक नै भएपनि लिगको दोस्रो स्थानमा छ। पराजित बार्सिलोना भने लिगको तेस्रो स्थानमा छ। बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।