पोखरा– महेन्द्रपुलमा पोखरा लेखनाथ महानगरका २ वटा सार्वजनिक शौचालय छन्। एउटामा सेफ्टी टयांकी छ भने अर्कोको फोहोर सिधैं सेती नदीमा जान्छ। सेती बचाउ अभियानमा लागेका सरोकारवालाको दबाबपछि पोखरा महानगरपालिका–९ ले शौचालयमा ताला लगाउनु पर्यो। ताला लगाएकै २ वर्ष भइसक्यो। न त खोलिएको छ, न विकल्प खोजिएको छ।
विरोध आएपछि वडाले ताला लगाएको पोखरा–९ का वडा सचिव लोकदर्शन कोइरालाले बताए। उनी भन्छन्, ‘२ वटामध्ये एउटामा मै गएर ताल्चा लगाएको हुँ, अर्कोमा त सेफ्टी टयांकी नै छ, चिन्ता भएन।’ सार्वजनिक शौचालयमा ताला लगाए पनि वडाले त्यस वरपर रहेका ९६ घरलाई सेती नदीमा ढल निकास गर्नबाट नियन्त्रणमा ल्याउन सकेको छैन। जसका घरबाट सिधै चर्पी तथा ढलको पानी सेती नदीमा मिसिन्छ।
सेती किनारको छेउमा उमावती उपाध्यायको पक्की घर छ। सबै कोठा भाडामा छन्। भाडामा बस्नेले नै हेरचाह गर्छन् त्यो घर। पोखरा महानगरपालिका–९ मा पर्ने उनको घरको सेफ्टी ट्यांकीको पानी सिधै सेतीमा मिसिन्छ। त्यस्तै सोही वडामै घर भएकी पार्वती प्रजापतीको घरको पोहोर पानीको निकास पनि सेती नदी मै छ।

उमावती र पार्वती जस्तै त्यस वडामा भएका १ सय ४० घरमध्ये ९६ घरले चर्पीका लागि छुट्टै सेफ्टी खाल्डो नखनेको वडाका सचिव लोकदर्शन कोइराला स्विकार्छन्। उनी भन्छन्, ‘केहीले हाम्रो सूचना मानेर बनाए, कसैले बनाउँदैछन्, धेरैले त अटेरी नै गरेर बनाएका छैनन्।’
वडाले पटक–पटक गरेर माइकिङ तथा सूचना भने जारी गरिसकेको छ। वडाका सबै बासिन्दालाई भेला गरेर जनचेतना फैलाउने काम पनि भइसकेको छ। कसैले मानेका छन् भने कसैले अटेर गरिरहेको सचिव कोइरालाले सुनाए। ‘चर्पी सफा गर्ने, सेतीमा ढल मिसाउँदा के हुन्छ र नमिसाउँदा के हुन्छ भन्नेबारे सडक नाटक नै देखायौं, तर भएन,’ उनी भन्छन्।
स्थानीय चुनाव भएको १ वर्ष बितिसक्दा पनि वडाले सेती नदीमा जाने शौचालयको ढल तथा फोहोरलाई रोक्न नसक्दा वडाको टाउको दुखाइको विषय बनेको छ। सञ्चार माध्यमबाट धेरैपटक सूचना प्रकाशित गर्दा पनि वडाबासीले हेलचेक्र्याइँ गरेको कोइरालाले जनाए। वडाले भएको सार्वजनिक शौचालयलाई समेत नयाँ सेफ्टी ट्यांकी खोलेर प्रयोगमा ल्याउन सकेको छैन।
४४ जनाको घरमा सेफ्टी टयांकी निर्माण भइसकेको र यसबीचमा धेरैको निर्माणाधीन अवस्था रहेकाले कतिको घरमा टयांकी बनिसकेको छ भन्ने यकिन तथ्यांक नभएको उनले बताए। ‘चिठी सबैलाई पठाएकै छौं, अब स्थलगत अनुगमनमा गएर तथ्यांक संकलन गछौं,’ उनले भने। पत्रपत्रिकामा नाम किटेरै सूचना जारी गरिसकेकाले अब कतिले माने कतिले नमानेको जानकारी लिन घरदैलोमा जाने उनको भनाइ छ।

सेफ्टी टयांकी बनाउनेले पनि सबैले घरैपिच्छे बनाएका छैनन्। सेती नदीको डिलमै घर भएकाले ३–४ घर मिलेर एउटा टयांकी बनाएको एक स्थानीयले बताए। सबै मिलेर बनाउँदा ठाउँ पनि थोरै लाग्ने र सेतीमा फोहोर पनि नजाने उनको भनाइ छ।
यसरी सेती नै प्रदूषित हुनेगरी फोहोर, ढल तथा चर्पीको पाइप सिधै फाल्ने घरधनीलाई भने वडाले अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन। ‘चिठी पठाउँदा यति दिनभित्र बनाउनुप¥यो भनेका छौं, मान्दैनन्, के गर्नु त?’ वडा सचिव कोइरालाले भने, ‘अहिले नर्मल्ली पेश भइराखेका छौं। एकैचोटिमा हुने कुरा होइन। होला विस्तारै।’

व्यस्त बजारको छेउमा बस्ती भएकाले घरमा घरधनी नबस्ने र बहालमा बस्ने मात्र भएकाले सम्झाउन नसकिएको कोइरालाको भनाइ छ । ‘सबै घरमा भाँडामा मात्र बस्ने छन्, गयो घरधनी भेटिँदैनन्,’ उनले भने। घरधनी समयमै नभेटिँदा पनि सेती नदीमा फोहोर फाल्नेलाई रोक्न नसकिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।