काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिएका छन् ।
राप्रपाका सम्बन्धित क्षेत्रीय कमिटीहरूले उनलाई सिफारिस सुचीमा समावेश गरेका हुन् ।
जुम्ला जिल्लाबाट प्रत्यक्षतर्फ शाहीको नाम एकल सिफारिस भएको छ । शाहीले यसअघि पनि जुम्लाबाट अत्यधिक मतले जितेका थिए । जुम्लाका कार्यवाहक अध्यक्ष देवीकृष्ण न्यौपानेले राप्रपाको सचिवालयलाई पत्राचार गर्दै उम्मेदवार सिफारिस गरेका छन् । उनले समानुपातिकतर्फ १४ जनाको नाम पठाएका छन् ।
ललितपुर १ को क्षेत्रीय कार्यसमितिले शाहीलाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा राखेर सिफारिस केन्द्रमा पठाएको छ । शाहीबाहेक परशुराम सिलवाल र रविन घिमिरेलाई सिफारिस गरिएको छ । ललितपुर १ का राप्रपा अध्यक्ष विक्रम लामाले गरेको सिफारिसको बोधार्थ जिल्ला कार्यसमितिलाई पनि दिइएको थियो ।
भक्तपुरबाट पनि शाहीको सिफारिस भएको जनाइएको छ । भक्तपुरका राप्रपा अध्यक्ष अर्जुन कार्कीले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ शाहीलाई सिफारिस गरिएको जानकारी प्रेषित गरेका छन् ।
सुर्खेत २ बाट पनि शाही पहिलो नम्बरमा सिफारिस भएका छन् । क्षेत्रीय अध्यक्ष कर्णबहादुर रेगामी मगरले जिल्ला कार्यसमिति सुर्खेतलाई पठाएको सिफारिसमा प्रत्यक्षतर्फ शाहीसहित ४ जनाको नाम छ ।
रुपन्देही २ बाट गरिएको सिफारिसमा समेत शाही अटाएका छन् । क्षेत्रीय समितिका अध्यक्ष रामबहादुर थापाले जिल्ला कार्यसमितिलाई पठाएको पत्रमा प्रत्यक्षतर्फ सातौँ नम्बरमा शाहीको नाम समावेश छ ।
कञ्चनपुर २ बाट पनि आफूलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको शाहीले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।