काठमाडौं– जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले उपत्यका छाड्न र विदेश जान रोक लगाएको ४ जनाको स्थानहद फुकुवा गरेको छ ।
जेनजी आन्दोलन हुँदा गृहसचिव रहेका गोकर्णमणि दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका तत्कालीन प्रजिअ छविलाल रिजालको स्थानहद आयोगले पुस ७ मा फुकुवा गरेको हो ।
उनीहरूले विदेश यात्रा गर्न नपाउने र उपत्यका छाड्दा अनुमति लिनुपर्ने यसअघिको निर्णय फुकुवा गरिएको भन्दै आयोगले गृह मन्त्रालयमा पत्राचार गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको पनि स्थानहद र विदेश भ्रमण फुकुवा गरिएको छ । थापासँग बयान लिएपछि आयोगले मंसिर १५ उनीबारे त्यसअघि गरेको निर्णय फुकुवा गरेको हो ।
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकको स्थानहद र विदेश जान नपाउने निर्णय फुकुवा गरिएको छैन । लेखकलाई बयानमा आउन भन्दै पत्र पठाएको छ ।
पुस ११ मा लेखकसँग बयान लिइने आयोगका एकजना पदाधिकारीले रातोपाटीलाई बताए । केपी ओलीलाई बयानमा बोलाउनेबारे आयोगले सरकारसँग परामर्श गरिरहेको छ ।
नयाँ मन्त्रिपरिषद् गठन भएपछि गृहबाट राष्ट्रिय योजना आयोगमा सरुवा भएका दुवाडीले अहिले अवकाश पाएका छन् । जेनजी प्रदर्शन हुँदा आफ्नो संगठनको नेतृत्वमा रहेका हुतराज थापा र चन्द्रकुवेर खापुङले पनि अवकाश पाएका छन् ।
न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले अहिलेसम्म १५० जना भन्दा धेरैसँग बयान लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।