दमौली- तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटार र व्यास नगरपालिका-३ देउरालीनगर जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि चार वर्ष अगाडि जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गर्यो। अदालतको आदेशपछि सवारीसाधन भएका स्थानीयवासी व्यास नगरपालिका-५ पाटनको बाटो हुँदै दमौली आउन थाले।
अदालतको आदेशसँगै पैदलयात्रीलाई त झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भयो, तर सवारीसाधन भएकालाई वारी आउन केही समय बढी लाग्ने अवस्था आयो। केही समय लगत्तै पुनः झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्न थालियो। अदालतको निर्णय अव्यावहारिक भएको भन्दै स्थानीयवासीबाट उक्त आदेश उल्लङ्घन भयो।
झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ। साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ। झापुटारका स्थानीयवासीको मुख्य बजार दमौली हो। झोलुङ्गे पुल तरेर पाँच मिनेटमै दमौली बजार आइपुग्छ। त्यसको विकल्पमा पाटनबाट दमौली आउन २० मिनेटभन्दा बढी लाग्छ।
झापुटारबाट देउरालीनगर जोड्ने पक्की पुल नहुँदा यहाँका स्थानीयवासीलाई समस्या हुँदै आएको छ। स्थानीयवासीले वर्षौंदेखि सेती नदीमाथि पक्की पुलको माग गर्दै आए। विगतमा धेरै सरकार बने पनि स्थानीयवासीको माग पूरा हुन सकेन।
सङ्घीयता आएपछि गठन भएको गण्डकी प्रदेश सरकारले स्थानीयवासीको माग सम्बोधन गरेको छ। स्थानीय विजयलक्ष्मी थापाले हाम्रो माग सुनेर पक्की पुल निर्माण थालेकामा प्रदेश सरकारलाई धन्यवाद दिइन्। प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार ३९४ रुपैयाँको लागतमा पुल निर्माण सुरु भएको छ। पुल निर्माणका लागि गत मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौंसँग सम्झौता भएको थियो। २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए।
एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९.५० मिटर रहनेछ। पाइल फाउण्डेसनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ। पुल निर्माणका लागि चालु आर्थिक वर्षमा चार करोड ५० लाख रुपैयाँ विनियोजन भएकामा निर्माण कम्पनीलाई दुई करोड ८६ लाख रुपैयाँ भुक्तानी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।