काठमाडौं- चोरीमा संलग्न रहेको आरोपमा कुखुरे समूहलाई पक्राउ गरिएकाे छ। महानगरीय अपराध महाशाखाको टोलीले कुखुरे समूहका ५ सदस्यलाई चोरीको सामानसहित पक्राउ गरेको हाे।
यो समूह विगत ४/५ वर्षदेखि बालाजु, महाराजगञ्ज क्षेत्रलाई आधार इलाका बनाएर चोरी गर्दै आएको थियो। टोखा नगरपालिका-८ स्थित सुरेश शाहीको घरमा रहेको ४० इन्चको टिभी र विभिन्न सुनका गरगहना गरी १३ लाख ६१ हजार रुपैयाँ बराबरका सामान चोरी भएपछि यो समूहमाथि प्रहरीले निगरानी बढाएको थियो।
चोरीमा संलग्न रहेको भनिएको कुखुरे समूहका नाइके राजेश लामिछाने हुन्। यही समूहले चोरी गरेको हुनसक्ने भन्दै अनुसन्धानमा खटिएको प्रहरी टोलीले यसका ५ जना सदस्यलाई पक्राउ गरेको हाे।
पक्राउ पर्नेहरुमा काठमाडौं- २९ का २५ वर्षीय कुखुरे भनेर चिनिने लामिछाने, नुवाकोटको बेलकोटगढी नगरपालिका- ७ घर भई काठमाडौं तारकेश्वर लोलाङ बस्ने २५ वर्षीय भीम तामाङ र काठमाडौं चन्द्रागिरी घर भई तारकेश्वर- ४ बस्दै आएका २३ वर्षीय रितेश लामा छन्।
यस्तै धादिङको सिद्धलेख गाउँपालिका- ४ घर भई तारकेश्वर- ४ बस्ने २७ वर्षीय बिलाष खतिवडा र धादिङको धुनुबेशी नगरपालिका- ९ घर भई तारकेश्वर- ४ मै बस्ने २८ वर्षीय सुन पसल सञ्चालक नवराज सदाशंकरलाई पनि महाशाखाले पक्राउ गरेकाे छ।
प्रहरीले उनीहरुकाे साथबाट एलइडी टिभी १ थान, ३ तोला ४० लाल बरारबरका सुनका गहना र ४ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।