काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा जित निकालेको छ। मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम रियलले पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल यात्रालाई सहज बनाएको छ। खेलको पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खाएको थियो। रियलका भिनिसियस जुनियरले दुई गोल गर्दा मार्को एसेन्सियोले एक गोल थपे।
लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काएका थिए। खेलको २७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए। खेलको ३६ औं मिनेटमा मार्को एसेन्सियोले गोल गरेपछि रियलले लिभरपुलविरुद्ध पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको थियो।
खेलको ५१ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को स्थितिमा ल्याए। तर भिनिसियसले खेलको ६५ औं मिनेटमा अर्को गोल गरेपछि भने रियलले ३–१ गोलको अग्रता बनायो।
आफ्नो अग्रतालाई कायमै राख्दै कप्तान सर्जियो रामोस बिना नै रियलले लिभरपुलविरुद्ध ३–१ गोलको जित निकालेको हो। अब क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिडले लिभरपुलसँग १५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।