काठमाडौं- काभ्रेमा बसभित्रै एक महिलाको हत्या भएको छ। बनेपा नगरपालिका-८ स्थित बसपार्कमा पार्किङ गरी राखेको बा २ ख २४२७ नम्बरको बसभित्र एक ३५ वर्षीया महिलाको हत्या भएको हो।
हत्याको आरोपमा प्रहरीले तीन जना किशोर र एक जना किशोरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। गत आइतबार बसभित्र एक महिला मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने कार्यमा विवाद भई घटनामा आफूहरुको पहिचान खुल्ने डरले सबैजना मिली हत्या गरेको खुल्न आएको छ।
यस्तै रामेछापको दोरम्बा गाउँपालिका-६ घर भएकी पूर्णकला भन्ने पूजा दमाईको हत्यामा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
हत्या आरोपमा काभ्रे रोशी गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल डेरा गरी बस्ने रोशन भन्ने २२ वर्षीय विजय तामाङलाई सोमबार राति जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको हो।
बनेपा नगरपालिकास्थित सडकमा आइतबार बिहान पूजा दमाई मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित कोठाबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा तामाङले आफूलाई चोरीको आरोप लगाएकोले रिसको झोकमा अत्यधिक मदिरा सेवन गरेकी पूजालाई बसपार्कको सडक पेटीमा कन्चट, छातीलगायत शरीरका विभिन्न संवेदनशील अङ्गहरुमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।