काठमाडौं- नक्कली राहदानीमार्फत् ४३ पटकसम्म विदेश आवतजावत गर्ने एक व्यक्ति पक्राउ परेका छन्। सुनसरीको दुहवी भलुवा नगरपालिका-३ घर भएका ४४ वर्षीय महेन्द्र भण्डारी पक्राउ परेका हुन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
हिमालयन एयरलायन्सको उडान नम्बर एच९–५६६ बाट नेपाल आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो। भण्डारीले आफ्नै नाम र ठेगाना उल्लेख गरी ०६०७८२७२ नम्बरको राहदानी र गोरखा धुवाकोट-३ ठेगाना भएका राजु पौडेल नामको राहदानी नम्बर ३३७३२७७ र ०९२८५१९६ को २ वटा राहदानीमा आफ्नो फोटो राखी नक्कली राहदानी प्रयोग गर्दै आएको पाइएको छ।
उनी यी तीन वटा राहदानी प्रयोग गरेर ४३ पटकसम्म विदेश आवतजावत गरेको पाइएको महाशाखाले जनाएको छ। ३३७३२७७ नम्बरको राहदानी प्रयोग गरी सन् २०१५ मे २४ देखि २०१५ अक्टोबर १२ सम्म विभिन्न मितिमा त्रिभुवन विमानस्थलबाट ३ पटक विदेश आवत जावत गरेको देखिएको छ।
त्यस्तै, ०९२८५१९६ नम्बरको राहदानी प्रयोग गरी सन् २०१५ नोभेम्बर २० देखि २०१९ अक्टोबर २३ सम्म विभिन्न मितिमा त्रिभुवन विमानस्थलबाट ३६ पटक विदेश आवत जावत गरेको देखिएको छ।
भण्डारीले आफ्नै नाममा रहेको ०६०७८२७२ नम्बरको राहदानी प्रयोग गरी सन् २०१८ अक्टोबर १५ देखि २०२१ जनवरी २४ सम्म विभिन्न मितिमा त्रिभुवन विमानस्थलबाट ४ पटक गरी ४३ पटकसम्म विदेश आवत जावत गरेको देखिएको महाशाखाले जनाएको छ। पक्राउ परेका भण्डारीलाई थप कारबाहीका लागि महानगरीय प्रहरी अपराध महाशाखा टेकु पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।