काठमाडाैं- नेपाल पुलिस क्लब पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलबार भएकाे खेलमा पुलिसले थ्री स्टार क्लबलाई ४-० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेकाे हाे।
याेसँगै पुलिसले अफ्रिनक रुट्सँगको भेट पक्का छ। सुरुवातबाट नै दबाब दिएर खेलेको पुलिसले २९ औं मिनेटमा बुद्धबल तामाङले ‘वान टच’मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमै १-० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो।
६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो। सुमन लामाले बायाँ डिबक्स तर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि व्याकपास उपलब्ध गरे। तामाङले क्रसबार च्याप्दै गोल गरेपछि पुलिस जिततर्फ उन्मुख हुँदै गयो।
७४ औं मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङ नेपाल पुलिसका लागि तेस्रो गोल गरे। ८६ औं मिनेटमा सुमन लामाको पासमा सौजन राईको क्लिन फिनिसिङ गर्दै नेपाल पुलिसलाई ४-० अग्रतासँगै जित सुनिश्चित बनाए।
खेलमा म्यान अफ दि म्याच तेज तामाङ घोषित भए। बुधबार खेलको पहिलो सेमिफाईनल खेल संकटाविरुद्ध सशस्त्र प्रहरी बलबीच हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।