काठमाडौं– स्पेनिस ला लिगामा रियल भायाडोलिडसँगको खेलमा महत्वपूर्ण तीन अंक जोडे पनि बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले टिमको खेल स्तरअनुरुप नभएको बताएका छन्।
सोमबार राति भएको खेलमा उसमान डेम्बेलेको ९०औँ मिनेटको गोलले बार्सिलोना विजयी भएको थियो। ‘हामीले आज हाम्रो स्तरभन्दा कम खेल्यौँ। धेरैपटक बल गुमायौँ। डेम्बेलेले आजको खेलमा आफ्नो महत्व देखाएका छन्। शारीरिक रुपमा पनि उनले आफूमा निकै सुधार गरेका छन्,’ खेलपछि प्रशिक्षक कोम्यानले भनेका छन्।
भायाडोलिडसँगको खेलमा ६९ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि बार्सिलोनाले अन्तिम समयअघि गोलमा उपयोगी काम गर्न सकेन। बार्सिलोनाले २५ सट प्रहार हानेकोमा पोस्टमा १० सट हानेको थियो। ७९औँ मिनेटमा भायाडोलिडका ओस्कार प्लानो रेड कार्ड पाएर बाहिरिएपछि बार्सिलोनाले खेलमा दबाब बढाएको थियो।
जितसँगै बार्सिलोनाको २९ खेलमा ६५ अंक भएको छ। शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २९ खेलमा ६६ अंक रहेको छ। तेस्रो स्थानमा रहेको रियल मड्रिडको २९ खेलमा ६३ अंक रहेको छ।
यसैले अप्रिल ११ मा हुने बार्सिलोना र रियल मड्रिडबीचको खेल साथै मे ९ मा हुने बार्सिलोना र एथ्लेटिको मड्रिडको खेल बार्सिलोनाका लागि महत्वपूर्ण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।