काठमाडौं- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ। अमेरिकामा बसोबास गर्ने नेपाली विद्यार्थीहरुले गरेको आर्थिक सहयोगबाट क्रिन्जल फाउण्डेशन नेपालको शिक्षादिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति वितरण गरेकाे हाे।
फाउण्डेशनले विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विद्यार्थीको लागि छात्रवृत्ति वितरण गरेकाे छ। कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि जनही पाँच हजार ५ सय र कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि जनही आठ हजार २५० रुपैयाँ नगद प्रदान गरिएकाे फाउण्डेशनले जनाएकाे छ।

त्यस्तै, कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीलाई जनही रुपैयाँका नगद प्रदान गरेको छ। छात्रवृत्तिमा कुल दुई लाख २६ हजार नगद वितरण गरिएकाे क्रिन्जल फाउण्डेशन नेपालले जनाएकाे छ।
अमेरिकामा बसोबास गर्दै आएका क्रिन्जल फाउन्डेशनका निर्देशक क्षितिराज लोहानीले आर्थिक संकलन गरेर यो छात्रवृत्ति वितरण गरिएको फाउन्डेसनका बोर्ड सदस्य तथा आर्थिक संयोजक आरजु लोहनीले जानकारी दिइन्।

बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले विद्यार्थीलाई छात्रवृत्तिबाट पाएको पैसा सिकाइ प्रयोजनमा मात्र खर्च गर्न अनुरोध गरे। विद्यालय व्यावस्थापन समिति अध्यक्ष भगवान घिमिरेले विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक विकासमा संस्था मार्फत गरिएको सहयोग अत्यन्तै सह्रानीय हुनुका साथै अन्य संस्थाका लागि समेत सिकाइको विषय भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।