काठमाडौं– एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेभियासँग हार ब्यहोरेको छ। आइतबार राति भएको खेलमा सेभियाले एथ्लेटिको मड्रिडलाई १–० गोलले पराजित गरेको हो।
खेलको आठौं मिनेटमा नै सेभियाले पेनाल्टी पाएको थियो। एथ्लेटिको मड्रिडका साउल निगुएजले इभान राकिटिकलाई डिबक्सभित्र लडाएपछि सेभियाले पेनाल्टी पाएको थियो। तर पेनाल्टीबाट लुकास ओकाम्पोसले गोल गर्न सकेनन्।
योसँगै सुरुवातमै अग्रता बनाउने राम्रो अवसर सेभियाले गुमाएको थियो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सेभियाले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो।
खेलको ७० औं मिनेटमा मार्कस एकनाले गोल गर्दै सेभियालाई जित दिलाए। लिग लिडर एथ्लेटिको मड्रिडले सेभियासँग निकै कमजोर प्रदर्शन गरेको थियो।
स्पेनिस ला लिगामै भएका अन्य खेलमा सेल्टा भिगोले अलाभेसलाई ३–१ ले, काडिजले भ्यालेन्सियालाई २–१ गोलअन्तरले हराउँदा रियल बेटिस र इल्चे भने १–१ गोलको बराबरीमा रोकिएका छन्।
यो हारसँगै उपाधि दौडमा रहेको एथ्लेटिको मड्रिडलाई ठूलो झड्का लागेको छ। आफ्नो महत्वपूर्ण खेलमा एथ्लेटिको मड्रिडले तीन अंक गुमाएको हो। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले २९ खेलबाट ६६ अंक छ।
एथ्लेटिको मड्रिडलाई हराएको सेभियाको २९ खेलबाट ५८ अंक भएको छ। लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडको २९ खेलबाट ६३ र तेस्रो स्थानको बार्सिलोनाको २८ खेलबाट ६२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।