काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम युनाइटेडका मार्कस राष्फोर्ड र मासन ग्रिनवोडले गोल गरे। यता, ब्राइटनका डेनी वेलबेकले गोल गरेका थिए। म्यानचेस्टर युनाइटेडले उत्कृष्ट पुनरामगन गर्दै जित निकालेको हो।
पहिलो हाफमा एक गोललले पछि रहेको युनाइटेडले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भयो। खेलको १३ औं मिनेटमा नै डेनी वेलबेकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए। १–० को अग्रता ब्राइटनले पहिलो हाफसम्म कायमै राखेपनि दोस्रो हाफमा गोल खाँदा हारेको हो।
खेलको ६२ औं मिनेटमा मार्कस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरी दिलाए। ८३ औं मिनेटमा मासन ग्रिनवोडले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
प्रिमियर लिगमै भएका अन्य खेलमा साउथह्याम्पटनले बर्नलीलाई ३–२ गोलअन्तरले पराजित गर्दा एस्टन भिल्लाले फुलहामलाई ३–१ गोलले पराजित गरेको छ।
यता, टोटेनहम र न्युक्यासलले भने २–२ गोलको बराबरी खेलेका छन्।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले जितसँगै ३० खेलबाट ६० अंक बनाएको छ। पराजित ब्राइटनको भने ३० खेलबाट ३२ अंक छ। लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।