काठमाडाैं- सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालमाथि वैशाख ३ गते संसदीय सुनुवाइ हुने भएको छ।
सुनुवाइ समितिले उनीहरुविरुद्ध परेको उजुरीमाथि आइतबार छलफल गर्दै सुनुवाइको मिति सारेको हो। सुनुवाइ समितिमा उजुरीकर्ताहरुलाई छलफलका लागि डाकिएको थियो। यसअघि चैत २५ गतेका लागि संसदीय सुनुवाइ सुरु गर्ने मिति तय भएको थियो।
सुवेदीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको र त्यसको निर्णय चैत ३० गते हुने तय भएकोले त्यसपछिको मिति तोकिएको हो। सर्वोच्चको फैसलापछि संसदीय सुनुवाइका गर्ने गरी मिति तोकिएको हो। न्यायाधीश मनोजकुमार शर्माको इजलाशले सुवेदी विरुद्धको मुद्दामा सुनुवाइ गर्दै निसु तोकेका छ।
न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका सुवेदीविरुद्ध ५ र चुडाल विरुद्ध २ वटा उजुरी परेको थिए। दुवैमाथि चैत २५ गते सुनुवाइ सुरू गर्ने प्रारम्भिक मिति तय भए पनि बैठकले सुनुवाइ मिति पर सारेको छ। सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
समितिमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले समितिमा उजुरी गरेका थिए। समितिमा सुवेदीको पाँच वर्ष मुख्य न्यायाधीश हुनुपर्ने योग्यता नपुगेको र चुडालले नक्कली भ्याट बिल लगायतका मुद्दामा त्रुटीपुर्ण फैसला गरेको उजुरीमा दावी गरिएको छ।
(सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको सुनुवाइ वैशाख ३ गते हुनुपर्नेमा यसअघि भूलबस अन्यथा भएकोले सच्याइएको छ। यसबाट पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछाैं। - सं. )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।