काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृढ इच्छाशक्ति र तत्परताका कारण मेलम्चीको पानी काठमाडौंमा आइपुगेको बताएकी छिन्।
शुक्रबार मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारको दृढ इच्छा शक्ति र तत्परताको कारण मेलम्ची खानेपानी आयोजना सम्पन्न भएको बताएकी हुन्। नयाँ वर्ष २०७८ सालको पूर्वसन्ध्यामा मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीलाई उपहार हुन पुगेको उनले बताइन्।
राष्ट्रपति भण्डारीले मेलम्चीको खानेपानी काठमाडौं ल्याउन परिकल्पना गर्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि स्मरण गरेकी छिन्। ‘यस अवसरमा म मेलम्ची आयोजनाका परिकल्पनाकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मुलुकमा प्रजातन्त्रको पुन:स्थापनापछि तत्कालीन प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी काठमाडौंमा ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यो आयोजना कार्यान्वयन गर्नका लागि प्रेरणा मिल्यो,' उनले भनिन्, 'नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन सांस्कृतिक सहर र राजधानी काठमाडौंवासीलाई यो आयोजना एक उपहार हुन पुगेको छ।’
राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनामा हासिल गरेका सिकाइबाट शिक्षा लिँदै आगामी दिनमा ठूला पूर्वाधारहरुको तर्जुमा गर्न सबैपक्ष सचेत बन्नुपर्ने आवश्यकता रहेको पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।