काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब पूर्वाधार विकासका काम समन्वयात्मक रुपमा अघि बढ्नैपर्ने र त्यसो नगरी मनपरी रुपमा हुने कार्य क्षम्य नहुने बताएका छन्।
शुक्रबार मेलम्चीको खानेपानी वितरण औपचारिक रुपमा सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पूर्वाधार विकास कार्यमा सरकारी निकायहरुबीच समन्वय हुनैपर्नेमा जोड दिए।
‘एउटाले बाटो बनाउँदै जान्छ, अर्कोले भत्काउँदै जान्छ,’ प्रधानमन्त्रीले भने, ‘मैले यसबारेमा विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिइसकेको छु, अब त्यस्तो हुँदैन।’
सडक निर्माण गर्नेले अब खानेपानी, ढल, तारहरु बिछ्याउने लगायतलाई पूर्वसूचना दिनुपर्ने उनले बताए। ‘जानकारी पाएर पनि काम गर्दैन, पछि आएर सडक खन्छ भने जस्ताको तस्तै बनाउने जिम्मा उसैको हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘पछि आएर जस्ताको तस्तै बनाउने भन्ने कुरा पनि जस्टिफाई हुनुपर्छ, यत्तिकै सरकारी खर्च गर्न पाइने छैन। त्यसकारण पहिले नै समन्वयात्मक काम गर्न म अहिले पनि निर्देशन दिन चाहन्छु।’
प्रधानमन्त्री ओलीले अब एउटा लयमा विकासलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्दै आफ्नो पहलमा चौतर्फी प्रगति गरेको दाबी पनि गरे। ‘सरकारी निकायहरुबीच सहकार्य र समन्वयको अभाव भने यथावत छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।