काठमाडौं- एएफसी कप फुटबलअन्तर्गत प्लेअफमा त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंका पुलिस स्पोर्टस क्लबबीच हुने खेल हेर्न आउने दर्शकको लागि टिकटकाे मूल्य निर्धारण गरिएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्मीले साधारणतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ मूल्य तोकेको हाे। खेल चैत २५ गते बुधबार दिउँसो ३ बजे दशरथ रंगशालामा हुँदैछ।
आर्मीले लामो समयदेखि एएफसी कपको प्लेअफ खेललाई मध्यनजर गर्दै अभ्यास गरिरहेको छ। यसैक्रममा आर्मीले ओलम्पिकको तयारी गरिरहेको कीर्गिस्तानको यु–२३ टिमसँग प्रतिस्पर्धा गरेको थियो। जसमा आर्मीले गोलरहित बराबरी खेल्दै सन्तोषजनक नतिजा निकालेको थियो।
उक्त खेलमा आर्मीका कप्तान भरत खवास र मुख्य गोलपिकर विकेश कुथु टाेलीमा उपस्थित थिएनन्। नेपालले थ्री नेसन्स कपको उपाधि जितेसँगै भरत र विकेश आर्मीको अभ्यासमा फर्किसकेका छन्।
आर्मी र श्रीलंकाको पुलिसबीचको विजेताले बैशाख १ गते भारतको बैंगलुरु फुटबल क्लबसँग खेल्नेछ।
बैंगलुरुविरुद्धको खेल भने भारतको गोवास्थित जीएमसी रंगशालामा बैशाख १ गते हुनेछ। आर्मी तथा श्रीलंका पुलिसमध्ये एक र बैंगलुरुबीचको विजेताले बैशाख ८ गते प्लेअफको फाइनलमा खेल्नेछ।
प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीबीचको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ। यी टिमबीचको विजेताले भारतको बैंगलुरु, नेपालको आर्मी र श्रीलंकाको पुलिस क्लबसँग प्लेअफको फाइनलमा खेल्नेछ। प्लेअफको विजेताले एएफसी कपको समुह ‘डी’ मा स्थान बनाउने छ।
२०७६ सालमा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आर्मी उपविजेता बनेको थियो। पहिलोपटक विजेता बनेको मछिन्द्र क्लबले एएफसी कप खेल्नु पर्ने हो। तर, एएफसी क्लब लाइसेन्स मछिन्द्र क्लबसँग छैन।
केही महिनाअघि नेपाली क्लबले एएफसी लाइसेन्सको लागि दिएको आवेदन एएफसीले मापदण्ड नपुगेको भन्दै नेपालका १३ वटा क्लबलाई अस्वीकार गरेको थियो। तर, आर्मीले भने थप सुधार गर्दै एएफसी क्लब लाइसेन्सको लागि पुनः आवेदन दिएको थियो। त्यसपछि भने एएफसीले आर्मीलाई क्लब लाइसेन्सको मान्यता दिएको थियो। एएफसी क्लब लाइसेन्स पाएसँगै मछिन्द्रको सट्टा आर्मीले खेल्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।