मड्रिड– पहिलो हाफमा लिएको २ गोलको अग्रतालाई कायम राख्न नसक्दा स्पेनिस लालिगाअन्तर्गत रियल मड्रिडले भिल्लारियलविरुद्ध २–२ गोलको बराबरी खेलेको छ।
खेलको ११ मिनेटमा ग्यारेथ बेलको शानदार गोलबाट रियलले अग्रता लिएको थियो। ३२ मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडमार्फत सहज गोल गरे र खेललाई २–० को अवस्थामा पुर्याए। रोनाल्डो गत मे ६ मा बार्सिलोनाविरुद्धको खेलमा गोलीगाँठोमा चोट लागेपछि पहिलोपटक मैदान उत्रिएका थिए।

तर खेलको पछिल्ला २० मिनेट सम्हालिन नस्क्दा रियलले २ गोल खानपुग्यो। भिल्लारियलका लागि ७० मिनेटमा रोजर मार्टिनेज र खेल सकिन ५ मिनेट बाँकी रहँदा कास्टिलेजु अजुआगाले गोल गरेका थिए।
बराबरीसँगै च्याम्पियन्स लिगको फाइनल अघिको खेलमा जित हात पार्ने रियलको चाहना पुरा हुन सकेन। युक्रेनको राजधानी किभमा आगामी मे २६ मा च्याम्पियन्स लिगको उपाधिका लागि रियलले लिभरपुलको सामना गर्दैछ।

यसैबिच बराबरीसँगै लालिगाको दोस्रो स्थानमा उक्लिने मौकासमेत रियलले गुमाएको छ। यसअघि नै उपाधि जितिसकेको बार्सिलोना ९० अंकमा साथ पहिलो तथा एट्लेटिको मड्रिड ७८ अंकसहित दोस्रो स्थानमा छ। २ अंक कम रहेको रियल तेस्रो स्थानमा छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।