काठमाडौं- डडेलधुराका जुनार उत्पादक किसानहरुले कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई जुनार उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन्।
किसानहरुले बिहीबार अर्याललाई भेटेर जुनार उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका हुन्। भेटमा सिँचाईको अभावमा जुनारको बोट मर्ने समस्या रहेको भन्दै त्यसको समाधानका निम्ती सिँचाईको व्यवस्थाका गर्दिन समेत किसानहरुले आग्रह गरेका छन्।
डडेलधुराको जुनार उत्पादन बृद्धि गर्न आगामी वर्षको कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता मन्त्री अर्यालले व्यक्त गरेकी छिन्।
‘बजारीकरणको क्षेत्रमा कालिमाटी फलफूल तथा तरकारी बजारमा डडेलधुराका कृषकहरुको उत्पादनलाई बिक्रिवितरण गर्न सहजिकरण गर्नेछु। यसका साथै जुनार उत्पादन क्षेत्रमा सिचाईको व्यवस्था समेत गर्ने वातावरण मिलाउनेछु,’ उनले भनिन्।
डडेलधुरास्थित भागेश्वर गाउँपालिका ५ चुल्ल–शिराड किसानहरुले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन्। अहिले बजारीकरणका निम्ती १३ सय किलो जुनार लिएर काठमाडौंमा आएको अगुवा किसान अन्तराम जोशीले जानकारी दिए।
‘बाउबाजेको पालादेखी नै डडेलधुरामा जुनारको खेती गर्दै आएको हो तर बजारीकरणको अभावमा बारीमै कुहिएरै जाने अवस्था थियो’, उनले भने, ‘बजार नपाउने समस्या थियो। त्यसैले अहिले हामीलृ कृषक समूहमार्फत बजारीकरण, प्रचारप्रसारका जुनार लिएर काठमाडौं आएका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।