काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो शक्ति अभ्यासमा तीव्र गतिमा अघि बढेका छन्। उनले सोमबार आफ्नै सहयात्री तथा १५ वर्ष पार्टीको नेतृत्व गरेका प्रमुख नेता माधवकुमार नेपाललाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यसमेतबाट निलम्बन गरे। निलम्बन हुनेको सूचीमा भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि थपिएका छन्।
यीमध्ये पाण्डे र भुसाललाई ओलीले बिहीबार मात्र ‘कारबाही’को निर्णय सुनाएका हुन्। कारबाहीमा परेका चारै जना एमालेभित्र मात्र होइन, अन्य पार्टी र आम मानिसका बीच पनि 'लोकप्रिय' नेतामा पर्छन्। गत महाधिवेशनमा उनीहरूले पाएको मतले पार्टीभित्र उनीहरूको लोकप्रियता प्रष्ट्याउँछ। तर, ओलीले त्यसको प्रवाह गरेनन्। बरु आफूसँग भएको अन्तिम औजार चलाउने दिशातिर अघि बढे।
अहिले एमाले एउटै पार्टी भए पनि दुई चिरामा विभक्त छ। एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्वमा नेपाल र झलनाथ खनाललगायत छन्। नेपाल–खनाल पक्षमा रहेका एमाले नेता योगेश भट्टराई पछिल्लो कारबाहीलाई भद्दा मजाक भएको बताउँछन्। 'विद्वान, इमान्दार र नैतिकवानहरूमाथि कारबाही हुन्छ। मुर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन्', बिहीबार ट्विटरमा उनले लेखेका छन्, 'कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ।'
नेकपा जीवित रहँदासम्म ओली निरीह देखिएका थिए। पछिल्ला केही महिना उनको इच्छा विपरीत पार्टी अघि बढिरहेको थियो। पार्टी कमिटीमा उनको राजीनामाको माग उठिरहेको थियो। उनी आफ्नो शक्तिको बलमा कुनै पनि निर्णय गराउन नसक्ने अवस्थामा पुगेका थिए। तर, सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलासँगै एमाले ब्युँतिएपछि उनी शक्तिशाली भए। परिणामतः नेकपामा आफूलाई हैरानी दिलाएका एक-एक पात्रमाथि उनी पछिल्लो शक्ति प्रयोगमार्फत् हिसाब मिलान गर्ने प्रयासमा देखिन्छन्।
ओली कति अघि बढ्छन् भनेर अहिल्यै आकलन गर्न मुस्किल छ। किनकी, उनी निकट नेताहरूकै भनाइमा उनको रिस मरिसकेको छैन। तर, एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका जोसुकै नेताहरू जुनसुकै बेला उनको कारबाहीमा पर्न सक्ने देखिन्छ। पार्टीभित्र कुनै गम्भीर बहस बिना आफू निकट महासचिव ईश्वर पोखरेलको नामबाट स्पष्टीकरण सोध्ने र आफ्नो नामबाट निलम्बन गर्ने सहज तरिका उनले स्थापित गरेका छन्।
'असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्ची भाँचिदिन्छु’, यो उनी आफैंले कबुल गरेको जीवन दर्शन हो', ओलीप्रति नेता घनश्याम भुसालको टिप्पणी छ, 'एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ। उनका लागि संसारमा या त चाकर छन्, या शत्रु।'
आफूलाई पार्टी सत्ताको एकछत्र प्रयोगमा अप्ठ्यारो सिर्जना नहोस् भनेर ओली बढी नै सचेत देखिन्छन्। ओलीका पछिल्ला कदमले उनी पार्टीमा आफ्नो एकाधिपत्य कायम गर्न चाहन्छन् भन्ने पुष्टि हुन्छ। भुसालको भाषामा भन्दा, उनी 'शत्रुहरू निकालेर चाकरहरूको पार्टी बनाउन' चाहन्छन्। त्यसैले उनले आफ्ना कदमहरूमा प्रश्न उठाउनेहरूलाई धकेल्ने सुत्र अख्तियार गरिरहेका छन्।
उनी पार्टीमा कोही पनि विरोधी नहुन्, आफूप्रति कसैले पनि फरक मत नराखोस्, कसैले उनको आदेशमाथि प्रश्न नउठाओस्, उनले बोलेको नै अन्तिम होस् भन्ने चाहन्छन् भन्ने बुझ्न सकिन्छ। त्यसैको रणनीतिक तयारीमा उनी छन्।
प्रश्न गर्न सक्ने आँट भएका नेताहरूलाई पार्टीबाट निकाल्ने श्रृंखला अघि बढाएपछि ओलीलाई पार्टी सञ्चालनमा भने निकै सहज हुने छ। मुख्यतः उनले पार्टीभित्र कुनै बहस व्यहोर्नुपर्ने छैन। कुनै सैद्धान्तिक, राजनीतिक, नीतिगत बहसमा टाउको दुखाउनुपर्ने छैन। किनकी, उनले त्यसमा रूची राख्ने गरेको विगत देखिँदैन, अरुले पनि चुनौती दिने अवस्था छैन।
ओलीले आफूप्रति प्रतिबद्ध हुनेहरूको जमात भने बढाउँदै लैजाने देखिन्छ। अहिले नै जो उनीसँगै छन्, ती थप प्रतिबद्ध बन्दै जानेछन्। तिनले कुनै किन्तु-परन्तु बिना ओलीलाई साथ दिने गरेको देखिन्छ, अब पनि दिन्छन् नै। तर, तीमध्ये धेरैजसो त अहिल्यै विवादित छन्। 'तपाईंसँग अहिले दोश्रो पुस्ताको जुन समूह छ, त्यसमध्ये केही धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारंगत भइसकेका छन्। उनीहरु जे गर्छन्, राजनीतिको व्यापार गर्छन्', भुसालले आफ्नो स्पष्टीकरणमा ओली निकट रहेका नेताहरूको चित्रण गरेका थिए।
माधव नेपाल पक्षमा रहेका कतिपय नेताहरूलाई आफूतिर तान्ने ओलीको प्रयत्न हुनेछ। उनले गुटसँग संवाद नगर्ने र व्यक्तिगत रूपमा प्रस्तुत हुनुपर्ने शर्त नै राखेका छन्। व्यक्तिगत संवादमा उनी वा उनी पक्षका नेताहरूलाई राजनीतिक साम, दाम, दण्ड, भेदको नीति अख्यियार गर्न पाउने अवसर प्राप्त हुन्छ। त्यस्तो नीतिले कतिपय अवस्थामा सफलता प्राप्त गरेको पनि देखिन्छ।
ओलीको शक्ति अभ्यासको मोह पार्टी सत्ताभित्र मात्रै देखिएको होइन, राज्य सत्तामा झन् बढी छ। विभिन्न मन्त्रालय अन्तर्गत रहेका महत्त्वपूर्ण निकायलाई आफूमा खिचेर उनले आफूलाई शक्तिशाली बनाए। जस्तो कि उनले गृह मन्त्रालयमातहत रहेको मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई आफूमातहत ल्याए। अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ताने। नेपाली सेनाको जिम्मेवारी हेर्ने रक्षा मन्त्रालयसमेत ओलीले आफूसँगै राखेका छन्।
अर्कोतिर, नागरिकलाई माइतीघरमा बोल्न नदिन निषेधाज्ञा लगाउने र फेसबुकमा लेख्न नदिन ऐन बनाउने प्रयत्न पनि गरे। उनका यस्तै प्रयत्नले उनीबाट लोकतन्त्र र संविधान नै खतरामा रहेको बताउँछन्, आलोचकहरू।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।