काठमाडौं– स्पेनले विश्वकप फुटबलको युरोपियन छनोटमा जित निकालेको छ। बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई पराजित गरेको हो।
समूह बी’ मा रहेको स्पेनले आफ्नै मैदानमा कोसोभोलाई ३–१ गोलले पराजित गरेको हो। स्पेनका लागि डानी ओल्मो, फेरान टोरेस र जिरार्ड मोरेनोले गोल गरे। यता, कोसोभोका बेसार हालिमीले एक गोल गरे।
खेलको ३४ औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेटपछि नै फेरान टोरेसले गोल गर्दै पहिलो हफासम्म स्पेनको अग्रतालाई २–० मा पुर्याए।
खेलको ७० औं मिनेटमा कोसोभोका बेसार हालिमीले गोल गर्दै २–१ को स्थितिमा पुर्याए। तर ७५ औं मिनेटमा जिरार्ड मोरेनोले गोल गरेपछि स्पेनले कोसोभोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। यसै समूहमा रहेको ग्रिसले जर्जियासँग भने १–१ गोलको बराबरी खेलेको छ। जितसँगै स्पेनको तीन खेलबाट सात अंक भएको छ।
दोस्रो स्थानमा रहेको स्वीडेनको भने दुई खेलबाट ६ अंक छ। ग्रिसको दुई र जर्जियाको एक अंक हुँदा कोसोभो भने अंक बिहीन छ।
त्यस्तै, समूह ‘जे’ मा रहेको जर्मनी भने नर्थ मासेडोनियासँग स्तब्ध बनेको छ। नर्थ मासेडोनियासँग जर्मनी २–१ गोलअन्तरले पराजित भएको हो।
यसै समूहमा रहेको अर्मेनियाले रोमानियालाई ३–२ गोलअन्तरले पराजित गरेको छ। लिच्टेनस्टाइन भने आइसल्यान्डसँग ४–१ गोलले पराजित भएको छ।
त्यस्तै, समूह ‘एफ’ मा डेनमार्कले अस्ट्रियालाई ४–० गोलले पराजित गरेको छ। मोल्डोभा इज्रायलसँग ४–१ ले पराजित हुँदा यसै समूहको अर्को खेलमा स्कटल्यान्डले फारोई आइसल्यान्डलाई ४–० ले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।