काठमाडौं– इंग्ल्यान्डले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्ने क्रममा समूह ‘आई’ मा रहेको इंग्ल्यान्डले पोल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र ह्यारी म्यागुइरले गोल गरे। यता, पोल्यान्डका जाकुब मोडेरले एक गोल फर्काए। पहिलो हाफमा एक गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो।
खेलको १९ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै कप्तान केनले इंग्ल्यान्डलाई १–० गोलको अग्रता दिलाए। खेलको ५८ औं मिनेटमा जाकुबले गोल गरेपछि पोल्यान्डले इंग्ल्यान्डविरुद्ध १–१ गोलको बराबरी बनायो। तर खेलको ८५ औं मिनेटमा भने पोल्यान्ड सम्हालिन नसक्दा गोल खाँदै हार्न पुग्यो।
ह्यारी म्यागुइरले गोल गर्दै इंग्ल्यान्डलाई २–१ गोलको जित दिलाए। यो इंग्ल्यान्डको लगातार तेस्रो जित हो। यसअघि इंग्ल्यान्डले पहिलो खेलमा सान मारिनोलाई ५–० गोलअन्तरले पराजित गरेको थियो। त्यसपछि दोस्रो खेलमा अल्बानियालाई २–० ले हराएको थियो।
यसै समूहमा रहेको हंगेरीले एन्डोरालाई ४–१ गोलअन्तरले पराजित गरेको छ। यता, अल्बानियाले भने सान मारिनोलाई २–० ले हराएको छ।
जितसँगै इंग्ल्यान्डले तीन खेलबाट ९ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको हंगेरीले तीन खेलबाट सात अंक बनाउँदा अल्बानियाले तीन खेलबाट ६ र पोल्यान्डले तीन खेलबाट चार अंक बनाएका छन्। समान तीन खेल खेलेका एन्डोरा र सान मारिनो भने अंक बिहीन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।