गाईघाट– उदयपुरमा सम्पन्न पाँचौं उदयपुर गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ।
थरुहट रंगशाला गाईघाटमा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले उपाधि जितेको हो।
यसअघि दुई पटकको विजेता थ्रीस्टारले यस पटकको फाइनलको पहिलो हाफमा अजय मार्टिनको १ गोलसँगै अग्रता लिएको थियो। खेलको दोस्रो हाफको अन्त्यतिर मनाङ मर्स्याङ्दीका जर्सी नम्बर ५ का विमल बस्नेत र थ्रीस्टारका जर्सी नम्बर ४५ का अजय मार्टिनले रातो कार्ड पाए। दस खेलाडीमा सीमित दुवै क्लबले त्यसपछि थप गोल गर्न सकेनन्।
विजयी टिमले ५ लाख र उप–विजेता टिमले ३ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।
फाइनल खेलको उत्कृष्ट खेलाडी थ्रीस्टारका पिटर सैगुन भए। उनले स्व. ज्ञानेन्द्र वान्तावा स्मृति प्रतिष्ठान मार्फत सर्वोत्कृष्ट खेलाडीको सम्मानसहित ५० हजार नगद पुरस्कार पाए। यस्तै, फाइनल खेलको म्यान अफ दि म्याच मनाङ मर्स्याङ्दीका डोना थापा घोषित भए।
प्रतियोगिताको अवधिभर चार गोल गरेका थ्रीस्टारका अजय मार्टिन हाइ स्कोरर भए। राइजिङ प्लेयर्सको उपाधि उदयपुर ११ का प्रज्वल चौधरीले पाए भने थ्रीस्टारका रुपेश केसी बेस्ट मिल्ड फिल्डर, विजय धिमाल बेस्ट डिफेन्डर, एलेन न्यौपाने बेस्ट गोलरक्षक र मेघराज केसीले बेस्ट कोच भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।