रसुवा– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आयोजना गरेको तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका खेलाडीले वर्चश्व जमाएका छन्।
सेनाका खेलाडीले पुरुषको शीर्ष तीन तथा महिलातर्फ एक स्थान हात पारे। म्याराथनमा सेनाका खगेन्द्रबहादुर भाटले पुरुषतर्फको उपाधि हात पारेका छन् भने सोलुखुम्बकी निर्कला कुलुङ राईले महिलातर्फको उपाधि हात पारिन्।
शिवदल गण बर्दियाका भाटले क्यान्जिन गुम्बादेखि स्याफ्रुबेंसीसम्मको ४२ दशमलब १९५ किलोमिटर दूरी ३ घन्टा ४९ मिनेट २७ सेकेन्डमा पार गर्दै पहिलो भए। त्यस्तै, नेपाली सेनाकै नारायण दल गण कपिलवस्तुका भरत खत्रीले निर्धारित दूरी ४ घन्टा ७ मिनेट १८ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान सुरक्षित गरे। यस्तै, सेनाको नारायण दल गणकै सुवास कार्कीले ४ घन्टा ७ मिनेट ५८ सेकेन्डमा दूरी पूरी गरी तेस्रो स्थान हात पारे।
महिलातर्फ सोलुखुम्बुकी निर्कला कुलुङ राईले प्रथम स्थान हात पारिन्। राईले ४ घन्टा ५७ मिनेट १३ सेकेन्डको दूरी पार गर्दै पहिलो हुन सफल भइन्। त्यस्तै, सोलुखुम्बुकै पूर्णिमाया राईले ५ घन्टा २६ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन्। उनीहरु दुवै दिदी–बहिनी हुन्। त्यस्तै, नेपाली सेनाको सैनिक प्रतिष्ठान भक्तपुरकी सरिता बासी तेस्रो भइन्। उनले ५ घन्टा ५२ मिनेट २० सेकेन्डमा दूरी पूरा गरेकी थिइन्।
शनिबार बिहान करिब पौने ८ बजेदेखि सुरु भएको म्याराथनको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रविन्द्र अधिकारीले रसुवाको पर्यटकिय क्षेत्र लाङटाङ स्थित क्याङजिङ गुम्बामा उद्घाटन गरेका थिए। म्याराथनमा ५३ जनाले सहभागिता जनाएका थिए।
म्याराथनमा महिला तथा पुरुषतर्फ पहिलो हुनेलाई एक लाख पाँच हजार, दोस्रो हुनेलाई ७८ हजार ७ सय ५० र तेस्रोलाई ५२ हजार ५ सयसहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो।
सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्राको गन्तव्य लाङटाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रतियोगितालाई गत वर्ष जस्तै यस वर्ष पनि निरन्तरता दिएको टानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।