काठमाडौं- पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वियाविरुद्धको खेलमा फालेको कप्तानको आर्मब्यान्ड अक्सनमा राखिने भएको छ। एक बिरामी बच्चाको उपचारको लागि कप्तान रोनाल्डोले खेलकै दौरानमा फालेको आर्मब्यान्ड अक्सनमा राख्न लागिएको हो।
विश्वकपको युरोपियन छनोटमा पोर्चुलले सर्वियासँग आइतबार २–२ गोलको बराबरी खेल्यो। खेलको अन्तिम समयमा आफूले गरेको गोललाई मान्यता नदिएको भन्दै रोनाल्डोले लगाएको कप्तानको आर्मब्यान्ड फाल्दै मैदानबाट बाहिरिएका थिए। त्यही आर्मब्यान्डलाई अब बिरामी बच्चाको उपचार गर्न आर्थिक संकलनका लागि अक्सनमा राखिने भएको हो।
आर्मब्यान्ड फालेसँगै कप्तान रोनाल्डोले भने पहेँलो कार्ड खाएका थिए। रोनाल्डोले आर्मब्यान्ड फाल्दै मैदानबाट बाहिरिएको एक मिनेटपछि खेल सकिएको थियो।

रोनाल्डोले प्रहार गरेको बलले गोललाइन क्रस गरेको उनको दाबी थियो। तर, खेलमा भिडियो एसिस्टेन्ट रेफ्रि (भिएआर) नभएपछि म्याच रेफ्रिले स्टेफन मित्रोभिचले क्लियरेन्स गरेकोलाई मान्यता दिँदै गोल नभएको संकेत दिएका थिए।
आर्मब्यान्डबाट संकलन भएको पैसाले ६ महिने बालक ग्राभिलो जुर्डेभिचको उपचारमा खर्च गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।