काठमाडौं- झापको दमक नगरपालिका-६ नयाँ सब्जीमण्डीस्थित एक घरबाट मानव बेचबिखन मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मोरङ पथरीशनिश्चरे नगरपालिका–३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलाम चुलचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया बन्ठि भन्ने नन्दिता साँवा लिम्बु रहेका छन् ।
उक्त घर भाडामा लिई २ जना महिलाहरुले दमक बजारमा कामको खोजीमा आउने युवतीहरुलाई सोही घरमा राखी वेश्यावृत्ति गराइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चैत ६ गते उक्त घर तलासी गर्दा १७ देखि ३९ वर्ष उमेरका ८ जना महिला तथा युवतीहरु फेला पारेको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उर्मिला र साँवाले उनीहरुलाई वेश्यावृत्तिमा लगाएको खुलेपछि तत्कालै उक्त घरमा रहेकी उर्मिलालाई पक्राउ गरी ८ जना पीडित महिला तथा युवतीहरु समेतलाई उद्धार गरेको थियो । साथै, तत्काल फरार रहेकी साँवालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
उनीहरुउपर मानव बेचबिखन मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।