काठमाडौं– विश्वकप फुटबलको युरोपियन छनोटमा केही देशले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने केही देशको प्रदर्शन सोचे अनुसारको हुन सकेकाे छैन।१० समूहमा विभाजित युरोपियन देशहरुले २०२२ को कतारमा हुने विश्वकपको लागि छनोट खेलिरहेका छन्।
समूह ‘ए’ मा रहेको पोर्चुगलले तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै सात अंक जोडेको छ। मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्समबर्गलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।
पहिलो खेलमा अजरबैजानलाई १–० गोलले हराएको पोर्चुगलले दोस्रो खेलमा भने सर्वियासँग २–२ गोलको बराबरी खेलेको थियो। दोस्रो स्थानमा रहेको सर्वियाको पनि समान खेलबाट सात अंक नै छ। लक्समबर्ग दुई खेलबाट तीन अंक बनाउँदै समूहको तेस्रो स्थानमा रहँदा रिपब्लिक अफ आयरल्यान्ड र अजरबैजान भने समान २–२ खेलबाट अंक विहीन छन्।
समूह ‘बी’ स्वीडेनको दुई खेलबाट ६ अंक छ। स्वीडेनले आफ्नो पहिलो खेलमा जर्जिया र दोस्रो खेलमा कोसोभोलाई हराएको थियो। दोस्रो स्थानमा भने स्पेन छ। स्पेनको दुई खेलबाट चार अंक छ। ग्रिसले एक खेलबाट एक अंक बनाएको छ। दुई खेल खेलेको जर्जिया र एक खेल खेलेको कोसोभो भने अंक बिहीन छन्।

समूह ‘सी’ मा भने इटाली र स्वीट्जरल्यान्डले दुई खेलमा दुबै खेल जितेका छन्। समूहको शीर्ष स्थानमा रहेको इटालीले नर्थन आयरल्यान्ड र बुल्गेरियालाई पराजित गर्दै ६ अंक बनाएको हो। दोस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डले भने पहिलो खेलमा बुल्गेरिया र दोस्रो खेलमा लिथुनियालाई हराएको हो। दुई खेल खेलेको बुल्गेरिया र समान एक–एक खेल खेलेको लिथुनिया र नर्थन आयरल्यान्ड अंक विहीन छन्।
समूह ‘डी’ को शीर्ष स्थानमा विश्वविजेता फ्रान्स छ। फ्रान्सको दुई खेलबाट चार अंक छ। फिनल्यान्ड र युक्रेनका समान २–२ अंक हुँदा बोस हर्जको एक अंक हुँदा कजाकिस्तान अंक बिहीन छ।
समूह ‘इ’ को शीर्ष स्थानमा बेल्जियम छ। बेल्जियमले तीन खेलबाट सात अंक बनाएको छ। चेक रिपब्लिकको तीन खेलबाट चार अंक हुँदा वेल्स र बेलारुसको समान २–२ खेलबाट ३–३ अंक छ। इस्टोनिया भने अंक बिहीन छ।
समूह ‘एफ’ डेनमार्कले दुई खेलबाट ६ अंक बनाएको छ। दोस्रो खेलमा रहेको अस्ट्रियाको दुई खेलबाट चार अंक हुँदा स्कटल्यान्डको दुई अंक छ। फारोइ आइसल्यान्ड, इज्रायल र मोल्डोभाको समान १–१ अंक छ।
समूह ‘जी’ मा टर्की शीर्ष स्थानमा छ। टर्कीको तीन खेलबाट सात अंक छ। नेदरल्यान्ड्स, मोन्टेनेग्रो र नर्वेको समान ६–६ अंक हुँदा लात्भियाको एक र जिब्राल्टार अंक बिहीन छ।

समूह ‘एच’ को शीर्ष स्थानमा रहेको क्रोसियाको तीन खेलबाट ६ अंक छ। रसियाको ६ अंक, स्लोभाकियाको पाँच, साइप्रसको चार, स्लोभेनियाको तीन र माल्टाको एक अंक छ।
समूह ‘आई’ मा इंग्ल्यान्डले खेलको दुबै खेलमा जित निकाल्दै ६ अंक बनाएको छ। पोल्यान्ड र हंगेरीको समान ४–४ अंक हुँदा अल्बानियाको तीन अंक छ। एन्डोरा र सान मारिनो अंक बिहीन छन्।
समूह ‘जे’ मा रहेको जर्मनी र अर्मेनियाले खेलेका दुबै खेलमा जित निकालेका छन्। जर्मनीको २ खेलबाट ६ अंक हुँदा अर्मेनियाको पनि ६ अंक नै छ। नर्थ मासेडोनिया र रोमानियाको समान ३–३ अंक छ। आइसल्यान्ड र लिच्टेनस्टेइनले भने अंक जोड्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।