प्रतीकात्मक तस्बिर
खोटाङ–भूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न भएको छ।
विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवन निर्माण सम्पन्न गरिएको हो।
भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटा गरी हालसम्म कुल १०६ वटा भवन निर्माण सम्पन्न भएको एकाइ प्रमुख बाबुराम पोखरेलले बताए।
ऐँसेलुखर्क र केपिलासगढी गाउँपालिकाको १४ वटा भवन गैरसरकारी संस्थाले निर्माण गरेको जनाइएको छ । राष्ट्रिय पुनर्निर्माणको डिजाइन र ड्रइङअनुसार निर्माण भइसकेका भवनमा दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा रहेका छन्।
निर्माण सम्पन्न गर्न बाँकी भवनको काम आगामी असार मसान्तभित्र सम्पन्न हुने एकाइ प्रमुख पोखरेलले जानकारी दिए।
एकाइले चारकोठे भवन निर्माणका लागि ७० लाख ४० हजार, तीनकोठे भवनका लागि ३५ लाख ८० हजार, दुई कोठे भवन निर्माणका लागि २३ लाख ९० हजार बजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएको छ।
पुनर्निर्माणतर्फ नै एकाइले ३२ वटा विद्यालयमा अपाङ्गमैत्री र महिलामैत्री शौचालय पनि निर्माण गरेको छ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ४६२ र प्रबलीकरणतर्फका ३६१ परिवार गरी कुल आठ हजार ८२३ लाभग्राही रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।