काठमाडौं- फ्रान्सका पूर्वस्ट्राइकर थियरी हेनरीले सामाजिक सञ्जालमा हुने रंगभेदविरुद्ध उभिने बताएका छन्। सामाजिक सञ्जालमा रंगभेदी घटना बढिरहेकोले अत्ति भएको भन्दै उनले त्यसविरुद्ध आफू लागिरहने बताएका हुन्।
गएको हप्ता सामाजिक सञ्जालमा भइरहने रंगभेदी विषयका कारण आफूले सामाजिक सञ्जाल नै छाड्ने मनस्थिति बनाएको उनले बताएका थिए। सामाजिक सञ्जालमा रंगभेदी विषय ‘वेवास्ता गर्नै नसकिने गरी विषाक्त भइरहेको’ उनको धारणा छ। त्यसैले सामाजिक सञ्जाल रहेका कम्पनीहरुले त्यसबारेमा ठोस काम नगर्दासम्म आफू सञ्जालमा नहुने उनले बताएका छन्।
‘सामाजिक सञ्जालमा सजिलै एकाउन्ट बनायो, अरुलाई जिस्काउन र घृणा फैलाउन त्यसको प्रयोग गर्यो, त्यसको परिणाम कस्तो हुन्छ भन्ने विचार नगरी अरुलाई पीडा दियो र नचिनिने बनेर बसिरह्यो, यो निकै सहज हुँदै गइरहेको छ’, उनले भनेका छन्, ‘त्यसैले यस्ता नकरात्मक कामका विरुद्ध उभिनुपर्ने भएको छ।’
‘विभेदका जे कुराहरु रंगशालामा र बाटोमा हिँड्दा सुनिन्थ्यो त्यही कुराहरु अहिले सामाजिक सञ्जालमा भइरहेका हुन्छन्। विशेष गरी मेरो समुदायमा यो व्यापक भइसकेको छ। अनि मलाई सबैभन्दा मनपर्ने खेल फुटबलमा नै त्यस्तो छ’ उनलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
‘अब यस्तो कामका विरुद्ध उभिएर मानिसहरुलाई महसुस गराउनुपर्नेछ। अहिले जे भइरहेको छ त्यो ठीक होइन। त्यसको असर मानिसको मानसिक स्वास्थ्यमा परिरहेको हुन्छ भन्ने विचार गर्नुपर्छ। कतिले त यस्तै कारण आत्महत्यासमेत गरेका छन्। इनफ इज इनफ’,उनले भने।
फुटबलमा देखिने रंगभेदका विषयमा विभिन्न समय विभिन्न खेलाडीले आवाज उठाउँदै आइरहेका छन्। अमेरिकामा प्रहरी हिरासतमा हत्या गरिएका अफ्रिकन–अमेरिकन नागरिक जर्ज फ्लोयडको न्यायको माग गर्दै सुरु भएको रंगभेदविरुद्धको प्रदर्शनपछि खेलाडीहरु अझ खुलेर यसबारे बोल्न थालेका छन्। रंगभेदको विरोधमा आवाज उचो बनाइरहेका छन्।
युरोपियन फुबटलमा खेल सुरु हुनुभन्दा अघि घुँडा टेकेर खेलाडीले रंगभेदविरुद्ध सन्देश दिने अभ्यास पनि गरिरहेका छन्। तरपनि सामाजिक सञ्जालमा तिनै खेलाडीमाथि रंगभेदी व्यवहार कम भइरहेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।